गोरखा जिल्लाको संक्षिप्त परिचय
वि.सं. १६१६ मा राजा द्रव्य शाहबाट गोरखा राज्यको स्थापना भएको नेपाल एकीकरणको ऐतिहासिक विरासत बोकेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्ला हो । गोरखाबासीहरूका आराध्य देव योगी गोरखनाथको नामबाट वा गार्इको रक्षा गौ रक्षा गरिने ठाउँ भएकोले यही आधारमा यसको नाम गोरखा रहेको भन्ने किम्बदन्ती रही आएको पाइन्छ । यहाँबाट नै नेपाल राज्य निर्माण / एकीकरणको सूत्रपात भएको हो । गोरखा जिल्ला राष्ट्र निर्माता पृथ्वी नारायण शाह, नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा, जंगबहादुर राणा जस्ता ऐतिहासिक व्यक्तिहरूको जन्मस्थान पनि हो । ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको यस ठाउँको नामबाट हामी नेपाली विश्वमा वीर गोर्खालीको नामबाट चिनिने र गैारवान्वित हुने गर्दछौं । यस जिल्लाको सदरमुकाम गोरखा नगरपालिका वडा नं ६, गोरखा बजारमा रहेको छ ।
नेपालका ७७ जिल्लामध्ये गोरखा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्व बोकेको जिल्ला हो । भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । यो जिल्लाले ३६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । समुद्र सतहबाट २२८ मिटरदेखि ८१६३ मिटर उचाइमा अवस्थित तथा २७ डिग्री १५" देखि २८ डिग्री ४५" सम्म उत्तरी अक्षांश र ८४ डिग्री २७" देखि ८४ डिग्री ५८" पूर्वी देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, समशितोष्ण, शितोष्ण हावापानी पाइन्छ । नेपालको मध्य भागमा रहेको यो जिल्ला काठमाडौदेखि १४२ कि. मी. र पोखराबाट १०६ कि. मी. टाढा पर्दछ । गोरखा जिल्ला समुन्द्री सतह देखी ११०० मिटरको उचाइमा रहेको छ ।

राजनीतिक एवम् प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई संघिय २ निर्वाचन क्षेत्र र प्रदेशका ४ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । त्यसैगरी २ नगरपालिका र ९ गाउँपालिकामा विभाजन गरिएको यस जिल्लामा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, आरूघाट गाउँपालिका, गण्डकी गाउँपालिका, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेन गाउँपालिका, सहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका रहेका छन् ।
यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन), पश्चिम सीमानामा तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिव्वत (चीन), उत्तर सीमानामा तिव्वत (चीन) तथा दक्षिण सीमानामा चितवन, तनहुँ र धादिङ जिल्ला पर्दछन् । यो नेपालको चैाथो ठूलो जिल्ला हो । धादिङ, चितवन, तनहुँ र लमजुङ यस जिल्लाका छिमेकी जिल्लाहरू हुन् । यसको उत्तरी क्षेत्र चीनको तिब्बतसंग जोडिएको छ । पहाडी भु-धरातल रहेको यस जिल्लामा बुढीगण्डकी, मर्स्याङदी, दरौंदी जस्ता नदीहरू, मनास्लु, बुद्ध हिमाल, श्रृङगी हिमाल जस्ता हिम सृङ्खलाहरू, विभिन्न झरनाहरू, भञ्ज्याङहरू, टारहरू रहेका छन् ।